अमरेस कुमार पाण्डेय
भाद्र १५ गते । बाराको जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा फोहोरको उपहार पठाएका छन् ।
जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् ।
बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् ।
हामीले जति भन्दा पनि उपमहानगरले सुनेन् बाध्य भएर हामीले आज उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठायौं’ स्थानीय युवक किसन ढकालले बताएका छन् ।
उपमहानगरपालिकालाई पटक–पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराएपनि बेवास्ता गरेकाले उपमहानगरपालिका कार्यालयमै फोहोर थुपारेको उनको भनाइ छ ।
स्थानीय युवाले तत्काल फोहोर व्यवस्थापनको पहल नगरे हरेक दिन उपमहानगरपालिका कार्यालयबाहिर थुपार्ने चेतावनी दिएका छन् ।