वीरगन्जबाट प्रहरीले तस्करी गरी ल्याइएका दुई ट्रकसहित सामान बरामद

२०७८ भाद्र २२, मंगलवार १५:५८


कृष्णा कुशवाहा
पर्सा,भाद्र २२ गते ।
वीरगन्जबाट प्रहरीले तस्करी गरी ल्याइएका दुई ट्रकसहित सामान बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्र्याइएका लताकपडा लगायत अन्य सामान बोकेर चितवन जाँदै गरेका दुईवटा ट्रक प्रहरीले नियन्तरणमा लिएको हो । सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १४ गण्डकबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट चितवन जाँदै गरेका दुवै ट्रक गण्डक चोकमा प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा दुवै ट्रकका चालक सामानसहितको ट्रक छाडेर फरार भएका थिए । प्रहरीले दुवै ट्रक नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर चेकजाँच गरेको थियो । ट्रकमा भन्सार राजश्व तिरेको पुरानो मितिको प्रज्ञापनपत्र भेटिएको तर सामानको बीलविजक भने एक दुई दिन यताको मितिमा काटिएको देखिएकाले ट्रकमा भएका सामानहरु तस्करी गरेर ल्याइएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए । ना.३ ख ५१६५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७७ माघ २२ गते र ना ३ ख ५५२५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७८ साउन २१ गते उल्लेख छ । दुवै ट्रकमा बरामद सामानको बिलबिजकमा मिति भने यहि भदौ १९ र २० गतेको उल्लेख छ । प्रज्ञापनपत्र र बिलबिजकको मिति बीच धेरै दिनको फरक देखिएकाले ट्रकमा रहेका सामान तस्करीको भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । सामानसहितको दुवै ट्रक ८० लाख रुपैयाँको मुल्यांकन गरी बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।



ताजा खबर