ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या दिनानु दिन घट्दो क्रममा

२०७८ भाद्र २९, मंगलवार १७:०१


ताप्लेजुङ,भाद्र २९ गते । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय भन्दा तल झरेको छ । सक्रिय कोरोना संक्रमितको संख्या २ सय भन्दा कम भएपछि निशेधाज्ञा हटाएको जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोग र सावधानीका उपायको आत्मसाथले सक्रिय कोरोना संक्रमितको संख्या सयभन्दा तल पुगेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार मंगलवार अपरान्ह सम्म ताप्लेजुङमा ९३ जना मात्र सक्रिय कोरोना संक्रमितको रहेका छन् । सोमवार सम्म संक्रमण बिहिन रहेका ३ मध्ये मेरिङ्देन गाउँपालिका बाहेक आठराइ त्रिबेणी र मैवाखोलामा फेरी संक्रमित थपिएका छन् । फक्ताङ्लुङमा १ जना संक्रमित निको भएसंगै सो पालिका पनि संक्रमणबिहिन भएको छ । आठराइ त्रिबेणीमा २ र मैवाखोलामा १ जना संक्रमित थपिएका हुन् । पाथीभरा याङ्वरक गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर ३१ जनामा झरेको छ । ३७ जना संक्रमणमुक्त भएका छन् । जिल्ला अस्पतालमा परीक्षण गराएका सहित फुङ्लिङमा ४९ जना सक्रिय संक्रमित रहेका छन् । सिरिजंगा गाउँपालिकामा ४ र सिदिङ्वामा ३ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



ताजा खबर