विरगंज यातायात कार्यालयमा दशैं लाग्यो, लाइसेन्स खुल्यो, दलालहरु मालामाल

२०७८ भाद्र ३०, बुधबार ११:१९


कृष्णा कुशवाहा
पर्सा,भाद्र ३० गते ।
नारायणी यातायात व्यवस्था कार्यालय वीरगंज पर्साले सवारी चालक अनुमति पत्रकालागि मंगलबारबाट पुनः परीक्षा र ट्रायल सुरु गरेको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले गरिएको निषेधाज्ञाका कारण गएको बैशाख १४ गते लिखित परीक्षा लिएसँगै बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि मंगलबारबाट फेरि सुरु भएको हो ।गएको बैशाख १२, १३, १४ र १५ गते बायोमेट्रिक गरी रसिद काटेकाहरुको मंगलबार लिखित परीक्षा सुरु भएको हो । लिखित परीक्षा विहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो, भने आज ३० गते बुधबार ट्रायल रहेको छ ।लिखित र प्रयोगात्मक परीक्षा वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनि विर्ता स्थित ट्रायल सेन्टरमा हुने पनि कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार लिएको लिखित परीक्षाको नतिजा साँझसम्ममा आउने र उतीर्ण हुनेले बुधबार प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउनेछन् । यातायातमा अहिले कार्यालय प्रमुख सुशिल साहले निष्पक्ष ढङ्गबाट सवारीको लाइसेन्स प्रणालीलाई प्रक्रियामा लिएर जाने तयारी गरेपनि दलालहरुको घेराबन्दीका कारण यातायात कार्यालय निरिह बनेको बताइन्छ । हालै एकजना अधिकृतले ब्याक डोरबाट प्रति लाइसेन्स एक लाख लिएर ३५ वटा लाइसेन्स बाँडेको घटनाले कार्यालय भित्र निकै ठूलो महाभारत मच्चिएको छ भने केहि कर्मचारीहरुको फाँट समेत परिवर्तन भएको छ । यातायात कार्यालयमा हुने गरेको अनियमितता नियन्त्रण गर्ने योजना कार्यालय प्रमुख साहले बनाएपछि उनलाई एकलो बनाउने गरी भित्रकै कर्मचारी र दलालहरुको बीचमा मोर्चाबन्दी तयार भएको बताइन्छ । यातायात व्यवस्था कार्यालयमा केहि समय अघि मात्र लाइसेन्सका निम्ती आएका सर्वसाधारणको हत्या भएको घटना सेलाउन नपाउँदै पुनः लाइसेन्स वितरण प्रक्रिया प्रारम्भ भएपछि यसले अनेक खालका आशंका सृजना गरेपनि त्यसलाई असत्यमा परिणत गर्ने कुरा कार्यालय प्रमुख साह बताउँछन् । साथै कार्यालय भित्र सर्वसाधारणहरुको काममा ढिलाई गरी दलालहरुको काम बढी हुने गरेको कार्यालय पुगेका सेवाग्राही हरुले गुनासो गरेका छन् । कार्यालयमा आफैले गई आफ्नो काम गराउन खोज्दा दिन भरी लाईनमा नै बस्नु परेको र दलाल मार्फत आउने काम छिटै गरी दिने जस्तो काम भइरहेको एक जनाले बताए ।



ताजा खबर