चितवन,भाद्र ३१ गते । नेपाली काङ्ग्रेस राप्ती नगरपालिका वडा नं. १ को सभापतिमा २५ वर्षका युवा काशीराम चालिसे निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्यासी हर्कबहादुर तामाङलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा १३१ मत खसेको थियो । जसमा काशीरामको पक्षमा ७१ र हर्कबहादुरको पक्षमा ५० मत प्राप्त भएको काङ्ग्रेसका नेता ओमप्रसाद डल्लाकोटीले जानकारी दिए ।
पार्टीको उपसभापतिमा एकराज पाठक र वासुदेव आचार्य, सचिव रामबहादुर खड्का, सहसचिवमा राजकुमार राई चयन भए ।
यसैगरी सदस्यहरुमा कविराज पन्त, सीताराम रिजाल, रामकुमार सुवेदी, प्रकाश केसी, सन्तोष तामाङ र सुमित्रा देवी तामाङ रहेका छन् ।
को हुन् सभापति चालिसे ?
२०५३ मा जन्मिएका उनी २०६९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका थिए । त्यसपछि उनी वीरेन्द्र आदर्श उच्च माविको उपाध्यक्ष भएर काम गरेका थिए ।
२०७३ देखि बालकुमारी कलेजको नेविसंघको राजनीतिमा २०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिका विद्यार्थी परिचालन समितिको उपसंयोजकको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
यस्तै, २०७४ कै प्रतिनिधिसभा निर्वाचनमा विद्यार्थी परिचालन समितिको नगर संयोजक भएर जिम्मेवारी निर्वाह गरेका उनी हाल नेविसंघ राप्ती नगरपालिकाको संयोजक हुन् ।