कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका

२०७८ आश्विन २, शनिबार १९:०४

काठमाडौँ,असोज २ गते । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।
यस्तो छ भरतमणिको कमेडीयात्रा
ताप्लेजुङमा जन्मिएका भरतमणिले सानो उमेरदेखि नै क्यारिकेचर गर्न सुरु गरे । कहिले माथिल्लो घरको अंकलको नक्कल गरे, कहिले तल्लो घरको दाइको । अन्य छर–छिमेकीको पनि । भरतमणिले क्यारिकेचर गर्दा सबै जना हाँस्थे । भरतमणि दंग पर्थे, ’अरे ! अरुलाई हँसाउन त मज्जा पो आउने रै’छ ।’
गाउँमा हुने कार्यक्रममा दाइहरूले नेताको क्यारिकेचर सुनाउँथे । भरतमणिले नेता चिन्दैनथे । तर, क्यारिकेचर दुरुस्तै बनाउँथे । भन्छन्, ’मैले नेता नै नचिनी दाइहरूबाट सुनेर उहाँहरूको क्यारिकेचर गर्दिन्थेँ । र पनि सबै जनाले मैले गरेको क्यारिकेचरलाई मन पराउनुहुन्थ्यो ।’

मेर बढ्दै गयो, भरतमणिलाई कमेडीको रस चढ्दै गयो । उनले पढाइमा कम, कमेडीमा बढी ध्यान दिन थाले । विद्यालयदेखि गाउँमा हुने विभिन्न कार्यक्रमहरूमा उनले थोरै समय मागेर प्रस्तुति दिन थाले, क्यारिकेचर गर्न थाले । उनी गाउँमा सानोतिनो स्टार भइसकेका थिए । ताप्लेजुङकै रेडियोमा उनले कार्यक्रम चलाउँथे । उक्त कार्यक्रममा उनले कलाकारहरूसँग अन्तर्वार्ता गर्थे ।

एसएलसी सकेर भरतमणि काठमाडौं आए । उनले काम गर्ने रेडियोका मालिक र हास्य कलाकार मनोज गजुरेलको राम्रो सम्बन्ध थियो । रेडियोका मालिकले भरतमणिले हास्य कलाकार बन्ने रुचि गरेको मनोजलाई सुनाए । र आग्रह पनि गरिदिए, ’यो हास्य कलाकार बन्छु भन्छ । यसलाई तपाईंले सहयोग गर्नुप¥यो ।’
मनोजले भरतमणिलाई केही गाईजात्रा र प्रहसनहरूमा मौका दिए । भरतमणि भन्छन्, ’सुरुवाती दिनमा मैले मनोज सरबाट धेरै सहयोग पाएको छु ।’ भरतमणिले अन्तर्वार्ता गर्ने क्रममा हरि निरौला ’कक्रोज’सँग राम्रो सम्बन्ध बनाए । कक्रोजकै कारण भरतमणिले ’भद्रगोल’का केही भागहरूमा अभिनय गर्ने मौका पनि पाए । ’मैले भद्रगोलका धेरै भागहरूमा सानो–सानो भूमिकामा काम गरेको छु । त्यो अवसर कक्रोज दाइले दिनुभएको हो’, भरतले कक्रोजलई सम्झिए ।

कलाकार बन्नका लागि भरतमणिले धेरै दुःख गरेका छन् । उनले आफ्नो कथा सुनाउने एपिसोडमा भनेका छन्, ’सिरियलमा काम गर्दा बोरामा हालेर कुटाइ खाने सिन पाएँ । म्युजिक भिडियोमा कोरस बनेर नाचेँ । एक महिना लगाएर खिचेको फिल्ममा आफैँलाई देखिनँ । अन्ततः म कमेडी च्याम्पियनको दोस्रो सिजनमा आइपुगेँ ।’



ताजा खबर