ताप्लेजुङ,असोज ७ गते । ताप्लेजुङको घुन्साको फलेमा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पुरा भएको छ । वातावरण संरक्षण तथा बिकास मंच (इसिडिएफ)ताप्लेजुङले आज दिवंगत संरक्षणविदहरुको सालिकमा माल्यार्पण ,संरक्षण पार्क सरसफाइ र वृक्षरोपण गरि मनाइएको छ । २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ ,२ संचारकर्मी सहित २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भए थियो ।
उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । हरेक वर्षको असोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ ।कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले भीरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भू–दृश्यहरुको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र घोषणा भएर व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् ।