छिन्नमस्ता गाउँपालिकाका झण्डै ५ हजार बालबालिका पाठयपुस्तक बिहीन, पढाइमा समस्या

२०७८ आश्विन ७, बिहीबार १६:२९

शुभ नारायण यादव
सप्तरी,असोज ७ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका भरिका बालबालिकाहरुले पाठ्य पुस्तकबिनै पढ्न बाध्य भएका छन् । गाउँपालिका भित्रका झण्डै ५ हजार ५६ जना बालबालिकाहरु बिना पाठ्य पुस्तककै विद्यालय जान बाध्य भएका हुन् ।कोरोना कहरका कारणले बिगत लामो समयदेखि बन्द रहेका विद्यालयहरु छिन्नमस्ता गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार बिहीबारबाटै छिन्नमस्ता गाउँपालिका भित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरु संचालनमा आएका छन् । तर, विद्यालय संचालनमा आएपनि भविष्यका कर्णाधार मानिने बालबालिकाहरुलाई पाठ्य पुस्तक बन्चित भएका छन् ।

‘पाठयपुस्तक नै छैन विद्यालय गएर पनि बालबालिकाहरु के पढछन् ‘, एक अभिभावकले गुनासो गर्दै भने ‘छिन्नमस्ता गाउँपालिकामा यस्तो अध्यक्ष भएछ कि अहिलेसम्म गाउँ सभा गरेका छैन । जसका कारणले अहिलेसम्म कुनै किसिमको विकास नै भएको छैन । बालबालिकाहरुको जिवनसँग समेत खेलवाड भइरहेको छ ।’

बिगत दुई वर्षदेखि कोरोना महामारीका कारणले विद्यार्थीहरु पढन पाएका थिएनन् । अर्कोतिर किताबसमेत अहिलेसम्म उपलब्ध नगराएर आफुहरुको भविष्यसंग खेलवाड भइरहेको आधारभुत विद्यालय बरही बिरपुरकी छात्रा उषा कुमारी यादवको गुनासो छ ।

यस्तै गुनासो सो गाउँपालिका भित्र रहेका १९ वटै विद्यालयका शिक्षक ,शिक्षिका ,बालबालिका तथा अभिभावकहरुको रहेको छ ।
पाठ्य पुस्तक नहुँदा विद्यार्थीहरु पनि विद्यालय आउँन नमानेको शिक्षकहरु बताउँछन् ।

यसअघि आर्थिक वर्ष २०७७(०७८ मा गाउँपालिकाले पाठ्य पुस्तक खरिद गर्नका लागि २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजित गरेपनि सो रकम समयमै गाउँ सभा नभएका कारणले फिर्ता भएपछि अहिलेसम्म बालबालिकाहरुको पाठयपुस्तक खरिद गर्न नसकेको छिन्नमस्ता गाउँपालिका शिक्षा शाखाका राजदेव खंग मण्डलले बताए ।

मण्डलका अनुसार कोरोना महामारीका कारणले विद्यालय पनि बन्द रहेको तथा भर्खरै गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय संचालनमा आएपनि अब चाडै नै पाठय पुस्तक पनि खरिद गर्ने जानकारी दिए ।

यता सो सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डलले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुँदा गाउँ सभा नभएका कारणले बालबालिकाहरुका लागि पाठ्य पुस्तक खरिद हुन नसकेको स्वीकारे । उनले प्रमुख प्रशासकीय अधिकृत आए लगत्तै पाठ्य पुस्तक खरिद गरी वितरण गर्ने बताए ।



ताजा खबर