प्रदेश २ का विद्यालय र सञ्चार गृहलाई निःशूल्क विद्युत उपलब्ध गराउ पहल भईरहेको छ ः मन्त्री शर्मा

२०७८ आश्विन ७, बिहीबार १६:३९

पर्सा,असोज ७ गते । प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले प्रदेशभरीका विद्यालय र सञ्चार गृहलाई निःशूल्क विद्युत सेवा उपलब्ध गराउनपहल गर्ने बताएका छन् । आउटलाईन मिडिया प्रा.लि.ले वीरगञ्जमा आयोजना गरेको सांसदसँग जनताको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री शर्माले विद्यालय र सञ्चार गृहले विद्युत महशुल तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न पहलचाल्ने प्रतिबद्धता जनाएका हुन् ।
सार्वजनिक सरोकारका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले प्रदेश नम्बर २ मा अहिले प्रतिपक्ष कोही नभएको जिकिर गरे । साढे ३ वर्ष प्रदेश सभा सदस्य र साढे ३ महिना देखि मन्त्री भएर जिम्मेवारी सम्हालेपनि आफु प्रदेश सरकारको कामकारवाही देखि सन्तुष्ट नरहेको शर्माको भनाई छ ।
० मेगावट क्षमताका सोलार विद्युत उत्पादन गर्ने कानुनी मान्यता दिइएपनि १ मेगाटभन्दा बढी विद्युत उत्पादन गर्दा नेपाल विद्युत प्राधिकरणको अनुमति लिनुपर्ने प्राधिकरणको विद्यानका कारण प्रदेश सरकारलाई प्राधिकरणले घुमाईरहेको शर्माले टिप्पणी गरे ।
कार्यक्रममा सहभागीहरुले उठाएको चुरे दोहन सम्बन्धी प्रश्नको जवाफ दिँदै प्रदेश नम्बर २ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले चुरेको संरक्षण प्रदेश सरकारको बलबुँताभन्दा बाहिर रहेको बताए ।
प्रदेश सरकारले चाहेर मात्रै चुरेको संरक्षण सम्भव नभएको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सोनलले भने, ‘चुरे नरहे मधेश रहँदैन, मधेश नरहे देश रहँदैन । चुरे संरक्षणको कार्यक्रमल्याउने सरकारले नै चुरे क्षेत्रामा विकास निर्माणका काम गरेर चुरे दोहन गरेको छ ।’
सोनलले देशमा विभिन्न राजनीतिक आन्दोलन र राजनीतिक उतारचढाव भएजस्तै अब सामाजिक आन्दोलन र सामाजिक उतारचढाव हुनुपर्ने आवश्यक्ता औँल्याए । सामाजिक अभियान र चेतनाको अभावका कारण कुरितिहरु फस्टाउँदै गएको सोनलको विश्लेषण छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको आरोप लगाए । साइकल बाँडेर बेटीको विकास नहुने बताउँदै तेलीले आफ्ना कार्यकर्तालाई ठेक्कादिएर कार्यकर्ता पाल्ने काममात्रै भएको बताए । सरकारमा सहभागी भएपनि सरकारका नराम्रा कामहरुमा खबरदारी गर्न पछि नपर्ने तेलीको भनाई छ ।
सो अवसरमा प्रदेश सभा सदस्य करिमा बेगम र भिमा यादवले प्रदेश सरकार आएदेखि थुप्रै परिवर्तन भएको चर्चा गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्रदेश सरकारको नजरमा नपरेका काम कारवाहीको बारेमा प्रदेश सभा सदस्यहरुको ध्यानाकर्षण गराएका थिए ।
शैक्षिक दृष्टिकोणबाट पछाडी परेको प्रदेश नम्बर २ का जनताहरुसँग सांसदको साक्षात्कार गराउने अभिप्रायले आउटलाईन मिडिया प्रा.लि.ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको आउटलाईन मिडिया प्रा.लि. की सम्झना पौडेलले बताईन् ।
पत्रकार बोमलाल गिरीले सहजिकरण गरेको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता ओमप्रकाश सर्राफ, सामाजिक अभियानता प्रकाश थारु, नेपाल शिक्षक संघ पर्साका अध्यक्ष तिर्थराज यादव लगायतको उपस्थिती रहेको थियो ।



ताजा खबर