सिरहामा सुरक्षित खानेपानीको कामलाई तीब्रता

२०७८ आश्विन ८, शुक्रबार १६:०२

सिरहा, असोज ८ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाले सुरक्षित खानेपानी समुदाय घोषणाको लागि गाउँ गाउँमा घनिभूत रुपमा कामलाई अगाडि बढाएको छ ।
सन् २०३० सम्म सबै नेपालीलाई सुरक्षित खानेपानीको पहुँच पुर्याउने लिएको सरकारको लक्ष्यलाई सार्थक बनाउन उक्त कामको थालनी गरिएको जनाइएको छ । यसको लागि नगरपालिकाले सुरक्षित खानेपानी समुदायको घोषणा निर्देशिका पारित गर्नुको साथै खानेपानी गुणस्तर अनुगमन निर्देशिका समेत नगर कार्यपालिकाले पारित गरिसकेको नगरप्रमुख हरिनारायण चौधरीले उल्लेख गर्नुभयो ।
नगरपालिका र युनिसेफको साझेदारीमा संचालित सबैको लागि खानेपानी र सरसफाईमा तिब्रता भन्ने मूल नाराका साथ संचालित कार्यक्रमले चार महिनाभित्रमा नगरपालिकाको १३ नंं. र १४ नं. वडाका तीन सय उन्नाइस घरधुरीलाई सुरक्षित खानेपानीमा पहुँच पुर्याउने लक्ष्य लिएको १३ नं.वडाका वडा अध्यक्ष सूर्यमान तामांगले जनाउनु भयो ।
सिरहाको धनगढीमाई नगरपालिको वडा नं. १३ स्थित तीन वटा भुल्के खानेपानी, धमिनीमाई ठकुरी टोल खानेपानी र यादव टोल खानेपानी योजनाको पानीलाई सुरक्षित भए नभएको यकिन गर्न विद्यालयको वालवालिका र समुदायलाई जिम्मा दिएका हुन् ।
आ आफ्नो घरमा प्रयोग भइरहेको खानेपानी सुरक्षित छ कि छैनको पहिचान गर्न विद्यालयका छात्रछात्रालाई प्रयोग गर्न सिकउनुको साथै जनसमुदायलाई समेत प्रशिक्षित एवम् खानेपानी जाँच्ने प्रविधि र उपकरण समेत गाउँ गाउँमा वितरण गरिरहेको छ ।
धनगढीमाई नगरपालिकाको १३ नं. वडा स्थित दुरविन डाँडा खानेपानी योजना यस अघि नै सुरक्षित खानेपानी समुदाय घोषणा भइसकेको छ । घोषित सुरक्षित खानेपानी योजना प्रदेश नं.२ को पहिलो नगरपालिका रहेको युनिसेफ सिरहाका सिनियर वास कोअर्डिनेटर तारा गिरीले बताइन् ।



ताजा खबर