सम्झौता भन्दा ७ महिना अघि नै निर्माण सम्पन्न

२०७८ आश्विन ९, शनिबार १७:२३

जनकपुरधाम,असोज ९ गते । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीन वटा पुल निर्माण सम्पन्न गरेको छ । ढल्केवर–जनकपुर–जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदै तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको छ ।
ढल्केवर–जनकपुर–जटही सडकलाई ६ लेनमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटि तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।
सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भई मङ्सिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ ।
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीन वटा पुल निर्माण गरेर हस्तान्तरण गरे पनि ढल्केवर–जटही खण्डमा ६ लेनकै सडकको सपही र नक्टाझिजस्थित खहरे खोलामा एकै दिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको छ ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ ।
यस अघि पनि दर्जनौँ स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ । द नेपालटप



ताजा खबर