सिरहा, असोज १० गते । नेपाल भारत महिला मैत्री समाजले विपन्न तथा घरवारविहीन परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । भारत सरकारबाट प्राप्त राहत सामाग्री समाजले आइतबार मिर्चैयामा आयोजित एक कार्यक्रमबीच २० जना विपन्न तथा घरवारविहीनलाई प्रदान गरेको हो ।
यस्तै, ८० जनालाई पुग्ने राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई हस्तान्तरण गरिएको छ । महिला मैत्री समाजकी अध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद चन्दा चौधरीले ४२ लाख बराबरको उक्त राहत सामाग्री हस्तान्तरण गरिन् । राहत सामाग्रीमा सिरहाका पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० वटा, सानो टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकको गुन्द्री २०० वटा रहेकोे उनले जानकारी दिइन् ।
सांसद चौधरीले विव्यसलाई जिम्मा लगाइएको राहत वास्तविक पीडित समक्ष पुर्याउन आग्रह गरिन् । सहयोगका लागि उनले भारत सरकारलाई धन्यवादसमेत दिइन् । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।