जनप्रतिनिधिलाई मस्ती स्वास्थ्य कर्मचारीलाई सास्ती ःछैन बिजुली र पानी

२०७८ आश्विन १०, आईतवार १७:५८

धनुषा,असोज १० गते । धनुषाको बटेश्वर गाउँपालिका–१ मा स्वास्थ्य चौकीमा खानेपानी र बिजुली नहुँदा कर्मचारी तथा सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ । करिब एक वर्षअघि वडाकै अर्काे ठाउँमा सारेको स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ । बिजुली तथा खानेपानीको व्यवस्था नहुँदा गर्मी याममा काम गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको हो ।

पहिला वडा नम्बर १ चित्रपुरस्थित लक्ष्मी माविको अगाडि व्यवस्थित भवन नभएको कारण १ किलोमिटर पर चौरमा सारेको स्वास्थ्य चौकीमा निर्माण गरेको बर्थिङ सेन्टरसहितको सुविधासम्पन्न भवन बनाएको छ । तर, स्थानीय जनप्रतिनिधिको बेवास्ताका कारण चर्काे गर्मी छलेर स्वास्थ्यकर्मी काम गर्न बाध्य भएका छन् भने सेवाग्राही आउन हिचकिचाउँ छन् ।

पश्चिम आँप बगैंचामा सारेको स्वास्थ्य चौकीमा हाल एकजना वरिष्ठ अहेव, २ जना हेल्थ असिस्टेन्ट, २ जना अनमी, एकजना अहेव र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । गाउँपालिकाको बजेटबाट बनेको ती स्वास्थ्य चौकीमा मुख्य रुपमा बिजुलीको समस्या रहेको स्वास्थ्य चौकी लक्ष्मीनिवासका इन्चार्ज श्याम साहले टुडेपाटीलाई बताए । उनले भने, ‘यहाँ मुख्य समस्या बिजुलीको छ । एक वर्षभन्दा बढी भइसक्यो आँप बगैंचामा हेल्थ पोस्ट सारेको । तर वडाध्यक्षले आश्वासन मात्रै दिदैँ आउनुभएको छ । आश्वासन अहिलेसम्म पूरा गर्नुभएन ।’
स्वास्थ्य चौकीमा शुद्ध खानेपानीको पनि समस्या रहेको इन्चार्ज साहले बताए । उनका अनुुुसार धाराबाट आउने पानीको पाइप कति ठाउँ फुटेको कारण फोहोर पानी आउने गरेको छ । त्यसकारण खानेपानी घरबाटै ल्याउनु परेको इन्चार्ज साहको भनाइ छ ।

चौरमा स्वास्थ्य चौकी भए पनि घेराबेरा गर्ने पर्खाल छैन । बाहिरका मानिस माथिबाट पसेर समान लग्ने गरेको छ । सामान तोडफोड गर्ने, झ्यालबाट मेडिकल समान निकाल्ने जस्तो काम हुने गरेको उनले गुनासो गरे । ‘पर्खालले घेराबेरा नगरेको कारण बाहिरका मानिस माथिबाटै समानहरु चलाइ दिन्छन् । अथवा झ्यालबाट समान निकालेर लैजान्छन्,’ साहले थपे ।

चौरमा हेल्थ पोस्ट भएका कारण बिरामी आउन नचाहेको उनले बताए । बिरामी आएपनि गाउँपालिकाबाट समयमा औषधि आपूर्ति हुन नसक्दा फर्केर जाने गरेको इन्चार्ज साहले जानकारी दिए । ‘कहिलेकाही सामान्य सिटामोलको अभाव हुन्छ । सामान्य जीवनजलको अभाव भएका कारण बिरामी फर्किन्छ,’ उनले भने ।
यता बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शैलेन्द्र महतोले वर्षाको कारण बिजुली जडान हुन नसकेको बताए । उनले पोलिङको काम सम्पन्न भएको र तार जोड्ने काम बाँकी रहेको बताए ।‘वर्षाले जान मार्याे । पोलहरु गाडिसेका छौं । तारहरु जोड्न बाँकी छ । बोर्डिङ गाडिसक्यौं । मोटर लगाउन बाँकी छ । कागजी प्रक्रिया पूरा गरेर चाँडै खानेपानी र बिजुलीको व्यवस्था गर्छाैं,’ वडाध्यक्ष महतोले टुडेपाटीसँग भने ।



ताजा खबर