भरतपुर महानगरपालिका कांग्रेस सचिवमा कृष्ण बगाल विजयी

२०७८ आश्विन १२, मंगलवार १५:१८

चितवन,असोज १२ गते । भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । आइतबार बिहान मतदान र साँझ मतगणना सुरु भएको थियो । कुल एक हजार ४८५ मतदातामध्ये महानगरपालिकाको कार्यसमिति पदका लागि एक हजार ४६६ जनाले मतदान गरेका थिए । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याएको निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा विजयी चित्रसेन अधिकारी (बीचमा) ।
उनका निकटतम प्रतिद्वन्दी भरत अधिकारीले ५४६ मत ल्याए । भरत अधिकारी वर्तमान नगर सभापति पनि हुन् । विजयी चित्रसेन अधिकारी भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्षसमेत हुन् । कांग्रेसको भरतपुर नगरसभापति पदमा पाँच जना मैदानमा उत्रेका थिए । तीमध्ये हिरामणि अधिकारीले १२९, बचन कार्कीले ७५ र अर्जुनप्रसाद रिजालले २६ मत ल्याएका छन् ।

भरतपुर कांग्रेसको उपसभापति पदमा बुद्धिकान्त न्यौपाने र विजय घले, सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले तथा सह–सचिवमा कल्पना खड्का पौडेल र उपेन्द्र पण्डित विजयी भए । त्यसैगरी आइतबार साँझ रत्ननगर नगरपालिकाको कार्य समिति पदको नतिजा पनि सार्वजनिक भएको छ । रत्ननगर नगरपालिकामा वर्तमान सभापति रुपनराज घिमिरेलाई पराजित गरेर प्रल्हाद सापकोटा कार्य समिति सभापतिमा चयन भएका छन् ।

यीसहित चितवनका सातैवटा स्थानीय तहमा नेपाली कांग्रेसको कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसको माडी नगरपालिकाको कार्य समितिमा कोमलनाथ भुसाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ सभापतिमा चयन भएका थिए । कालिका नगरपालिकामा दीपेन्द्र केसी र इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठले सभापति पदमा चुनाव जितेका छन् ।



ताजा खबर