मान्छेको खप्पर र हाड तस्करी गर्ने पक्राउ

२०७८ आश्विन २०, बुधबार ०९:२२

विराटनगर,असोज २० गते । भारतबाट मान्छेको खप्पर र हाडको नेपाल तर्फ ल्याउँदै गरेका दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) रानी विराटनगरले मान्छेको खप्पर तथा खुट्टा र हातको नली हाड सहित मंगलबार राती दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१५ बाट खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हाड जस्तो देखिने वस्तु १० थान बरामद गरेको छ ।
भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भ्यानलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गर्ने क्रममा खप्पर र हाड बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।
चेकजाँच सुरु गरेपछि भेनका चालक निस्किएर भागेका थिए । इलाका प्रहरी कार्याल रानीले भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भ्यानमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए ।



ताजा खबर