वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

२०७८ कार्तिक १२, शुक्रबार ०५:४२


रंजित चौरसिया
पर्सा,कात्तिक १२ गते ।
वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी सधैं ट्राफिक जामको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त हुनुका साथैं दिनहुँ जामको समस्या झेल्नु परेको छ ।
ई–रिक्सा संचालनको लागि कुनै किसिमको मापदण्ड पनि बन्न नसकेकोले युवादेखि वृद्धवृद्धा तथा साना साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाई रहेकोले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्यालाई नित्म्याइ रहेको छ । केही दिनदेखि मुख्य सडकमा ट्राफिक जामको समस्यालाई न्यूनीकरण गर्नका लागि ई–रिक्साहरुलाई डाइभर्ट गरिएको छ तर त्यसले मुख्य सडकमा नभई नगरको गल्ली गल्लीमा दिनहुँ जामको समस्या उत्पन्न हुने गरेको छ ।
घण्टाघरदेखि दक्षिणतर्फ जाने ई–रिक्साहरुलाई मिनाबजार, कुम्हालटोल हुँदै वीर्तासम्म पुग्नको लागि डाइभर्ट गरिएको छ भने वीर्तादेखि उत्तर घण्टाघर तर्फ आउने ई–रिक्साहरुलाई अलखियामठ, कैलाशचोक हुँदै घडिअर्वा गीता मन्दिरदेखि डाइभर्ट गरेर सिधै पानगल्ली हुँदै घण्टाघरसम्म पुग्नको लागि डाइभर्ट गरिएको छ । मुख्य सडकबाट डाइभर्ट गरेर महानगरको गल्ली हुँदै ई–रिक्साहरुलाई डाइभर्ट गरिएको छ तर त्यो व्यवस्थित नहुँदा मुख्य सडकमा नभई अब दिनहुँ गल्ली गल्लीमा जाम लाग्ने गरेको छ ।
वीरगन्ज महानगरलाई ई–रिक्साले अस्त व्यस्त बनाएको चौतर्फि रुपमा दबाब आउन थालेपछि विगत दुई वर्ष अघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो तर त्यो कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगन्जमा ई–रिक्साहरुको विगविगी भएको छ । नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढि ई–रिक्साहरु संचालनमा आएपछि अहिले महानगरको कुना कप्चामा पनि ट्राफिक जाम लाग्ने गरेको छ । जुन अहिले ट्राफिक प्रहरीहरुलाई व्यवस्थित गर्न धौ धौ परि रहेको छ ।
वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वीमनपा र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरि ४ सय ५० ई(रिक्सा भित्र्याउने सहमति भएको थियो । तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ५ हजार भन्दा बढिको हाराहारीमा ई–रिक्साहरु संचालनमा छन् । वीरगन्ज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई(रिक्साहरु मात्रै दर्ता भएका छन् भने ९० प्रतिशत भन्दा बढि ई–रिक्साहरु मापदण्ड विपरित संचालनमा छन् ।
यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरि लाइसेन्सको फारम समेत भरेनन् । यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् । विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्ड भित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा संचालित ई–रिक्साहरुलाई मापदण्ड भित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ तर कसैले रुटको पालना गरेको पाइएको छ ।
अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा संचालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाई छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् । वीरगन्ज बजारमा मात्रै आवत जावत गर्नका लागि उपभोक्तासँगै कसैले २० रुपैया लिने गरेको छ भने कसैले २५, ३० रुपैयासम्म लिने गरेका छन् । महानगरपालिको ई–रिक्सा व्यवस्थापनको लागि मापदण्ड बनाउन कुनै गृहकार्य नै गर्न सकेको छैन ।



ताजा खबर