सिरहा । सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगका मजदुरहरू आन्दोलित भएका छन्। १२ बुँदे माग राख्दै उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित भएका हुन्।
उद्योगमा कार्यरत मजदुरहरूको सुरक्षाको व्यवस्था हुनुपर्ने,स्थानीय कामदारहरूलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने, ८ घण्टा मात्र काममा लगाउनुपर्ने, हप्तामा एक दिन बिदा दिनुपर्ने, काम र दक्षताको आधारमा तलबभत्ताको व्यवस्था गर्नुपर्ने, मजदुरहरूका लागि उद्योगभित्र प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, वातावरण प्रदूषण न्यूनीकरणको उपाय अपनाउनुपर्ने, उद्योगमा कार्यरत पुरानो कामदारलाई निकालेर नयाँ कामदारको भर्ना रोक्नुपर्ने, उद्योगभित्र पर्याप्त खानेपानीको व्यवस्था हुनुपर्नेलगायतका मागसहित आफूहरू आन्दोलित भएको उद्योगका सिभिल सुपरभाइजर मोहित महराले बताए।
उद्योगका प्रशासन प्रमुख ब्रजेश झाले मजुदरहरूको माग उद्योगको आन्तरिक विषय भएकोले छलफल गरी टुंगो लगाउने बताएका छन्। उनले भने, ‘मजदुरहरूको उचित माग सम्बोधन हुन्छ। हामी छलफलमा छौँ।’ मजदुरहरूको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ। करिब आठ सय मजदुर सो उद्योगमा कार्यरत रहेका छन्।