शुभ नारायण यादव
सप्तरी,मंसिर ११ गते । सप्तरीको रुपनी गाउँपालिकामा लाखौंको औषधि नियमविपरीत खरीद गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ उपनियम १ (क) विपरीत २१ लाख भन्दा बढीको औषधि खरिद गरेको हो ।
महालेखा परीक्षकको प्रतिवेदन २०७८ अनुसार गाउँपालिकाले २१ लाख ६३ हजार ६ सय ५२ रुपैयाको औषधि नियम मिचेर खरिद गरेको उल्लेख छ । सार्वजनिक खरीद नियमावली २०६४ को नियम ८५ को उपनियम १(क) मा बीस लाख रुपैया सम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरि तोकिएको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर पालिकाले कमिसनको खेलमा उक्त प्रक्रियावेगर लाखौंको औषधि सोझै खरिद गरेकाले ठुलै चलखेल भएको आशंका गरिएको छ ।
गाउँपालिकाले खरिद गरेका उक्त औषधि कुन कम्पनीबाट उत्पादन भएको हो र सो को मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत गरेको छैन । आपूर्ति हुने औषधि डब्लु एच ओ सर्टिफाईड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरि सम्बन्धित विषयका विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि हो होईन खुलाएको प्रमाण समेत समावेश नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
मिलोमतोमा कमिसनका लागि मात्र प्रक्रिया मिचेर औषधि खरीद गरि लाखौं रकम सक्ने चलखेल भएको महालेखा परीक्षकको प्रतिवेदन २०७८ ले पुष्टि गरेको छ । रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले औषधि खरिद प्रक्रियाबारे आफु अनविज्ञ रहेको बताए ।
आफू हाजिर हुनुभन्दा पहिल्यै भएको औषधि खरीद प्रक्रिया सम्बन्धमा अख्तियारले पनि पत्राचार गरेकाले सम्बन्धित शाखालाई जवाफका लागि निर्देशन दिईसकेको उनले जानकारी दिए ।