विराटनगरको रानीमा छैन सावधानी

२०७८ मंसिर २०, सोमबार ०८:५२

विराटनगर,मंसिर २० गते । भारतमा ओमिक्रोनको संक्रमण भेटिएर अवस्था त्रासपूर्ण बनेका बेला नेपालमा भने हेलचेक्राइँ बढिरहेको छ। नेपालका सीमावर्ती क्षेत्रमा सावधानी शून्य छ। स्वास्थ्य मापदण्डको पालना नहुँदा नेपालमा यो भेरियन्ट भित्रने खतरा बढेको छ। भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी नाकाबाट दैनिक ५ हजार बढी मानिस नेपाल भित्रने गरेका छन्। नेपालबाट किनमेल तथा कामको सिलसिलामा भारत पुग्नेको संख्या पनि उत्तिकै छ। यसले ओमिक्रोन प्रवेश गर्ने जोखिम बढेको मनोज खड्काले बताए। यसअघि कोरोना कारण रानी नाका डेढ वर्ष बढी बन्द गरिएको थियो। असोज दोस्रो साताबाट खुला गरिएसँगै नाकामा भीडभाड अत्याधिक बढेको छ।

नाकामा निर्वाध हिँड्डुल गर्ने तथा सरसफाइमा वास्ता नगर्ने गरिएका कारण जोखिम बढेको खड्का बताउँछन्। उनका अनुसार नाकामा हात धुन राखिएको पानीको ट्यांकी नै भत्काइएको छ। मापदण्ड पालना नगरे पनि भारतबाट आउनेले सहजै प्रवेश पाउने गरेका छन्। ओमिक्रोन भेरियन्ट विश्वभर फैलन थालेकाले सावधानीमा कन्जुस्याइँ गर्न नहुने कोसी अस्पतालका मेसु डा। चुमनलाल दासले बताए। ‘संक्रमण कायमै रहेका बेला कोरोनाको नयाँ भेरियन्ट पनि थपिएको छ,’ उनले भने, ‘सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सावधानी अपनाउन जरुरी छ।’

मास्क लगाउने, दूरी कायम गर्ने, साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग नछाड्न दासले सुझाए। सबै क्षेत्र खुला भएकाले जोखिम झन् बढेको उनको भनाइ छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भने सीमा क्षेत्रमा कडाइ गर्दै उच्च सतर्कता अपनाउन थालिएको बताउँछन्। ‘आवत–जावतलाई व्यवस्थित बनाउने, सीमामै एन्टिजेन परीक्षण गर्ने र स्वास्थ्य मापदण्डको पालनामा जोड दिने काम भइरहेको छ,’ उनले भने। रानी हुँदै भारतबाट आउनेको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने काम भइरहेको उनले बताए। भारतबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाए–नलगाएको पनि जानकारी लिने गरिएको दाहालले बताए। ‘डीसीसीएमसीको बैठक तत्काल बसेर थप रणनीति तयार पर्छौं,’ उनले भने



ताजा खबर