लुम्बिनीमा करोडौंको भव्य रामजानकी मन्दिर शिलान्यास

२०७८ मंसिर २४, शुक्रबार ०५:०८


लुम्बिनी । विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा रामजानकी हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

बुद्ध जन्मस्थल नजिक लुम्बिनी सांस्कृतिक नगरपालिका(१ भगवानपुरमा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो ।

आज एक कार्यक्रमका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।

६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाको लगानीमा एक बिघा एक धुर क्षेत्रफलमा रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल निर्माण हुने इन्जिनियर कोहारले जानकारी दिए ।

एक आकर्षक डिजाइनमा बन्ने उक्त मन्दिरको क्षेत्रफल दुई हजार स्क्वायर फिट रहने छ ।

मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभूमिको पवित्र माटो र सीताराम इँटा हस्तान्तरण गरेका थिए ।

बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रा।लिले उक्त मन्दिर निर्माणका लागि तीन करोड ८५ लाख चार हजार एक सय ७५ रुपैयाँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ ।

सो अवसरमा राम जन्मभूमि आयोध्या हनुमानगढीका महन्त एवं सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थिति थियो ।

लुम्बिनीमा बन्ने सो मन्दिरले पर्यटकीय विकास र आर्थिक समृद्धिका लागि उल्लेख्य भूमिका खेल्ने वक्ताहरुले विश्वास व्यक्त गरे ।



ताजा खबर