सिरहामा चिसो छल्न दाउरा बाढ्दै

२०७८ पुष २१, बुधबार ०५:४१

सिरहा,पुस २१ गते । दलित विपन्न परिवारहरुमा केही दिन यता शीतलहर सँगै बढेको चिसोको कारण सर्वसाधरणको जनजीवन कष्टकर हुन थालेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले आगो ताप्नका लागि दाउरा वितरण शुरु गरेका छन् ।
शीतलहर संगै चिसो हावा सहित जाडो बढेपछि डिभिजन वन कार्यालय लहान, सिरहाले पालिकाको मागको आधारमा दाउरा दिने कार्यको थालनी गरेको छ ।

हाल सम्म सिरहाका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका र बिष्णुपुर गाउँपालिकामा निःशुल्क रुपमा दाउरा उपलब्ध गराएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो ।

दासका अनुसार हालसम्म लहान नगरपालिकामा ३ गाडी, धनगढीमाई नगरपालिकामा ३ गाडी, मिर्चैया नगरपालिकामा ३ गाडी र बिष्णुपुर गाउँपालिकामा एक गाडी दाउरा निःशुल्क उपलब्ध गराएको र अरुपनि पालिकाहरुबाट माग भएमा उपलब्धताको आधारमा निःशुल्क रुपमा दाउरा उपलब्ध गराउने डिभिजन वन कार्यालय लहान, सिरहाका डिभिजनल वन अधिकृत दासले बताएका छन् ।

शीतलहर बढेर चिसोको प्रभाव बढेपछि वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको बताए । सार्वजनिक ठाउँ लगायत विभिन्न चौकमा दाउरा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजनल वन अधिकृत दासले बताए ।



ताजा खबर