काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ ।
जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो । कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई संक्रमणबाट जोगाउन ध्यानाकर्षण गराएको हो ।
आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।
बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ ।