स्थानीय तह चुनावको इतिहासलाई फर्केर हेर्दा…

२०७८ माघ २४, सोमबार १४:३१

रासस
काठमाण्डौ,माघ २४ गते ।
स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आज सोमवारको बैठकले आउँदो नयाँ वर्षको पहिलो महिनामै एकै चरणमा चुनाव गर्ने निर्णय गरेको होे । स्थानीय तह चुनावका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिकका बुझाइमा देखिएको फरकपन र द्विविधाका बीच मिति घोषणा भएसँगै चुनावको अन्योल स्वतः हटेको छ ।

नेपालमा स्थानीय तहको पहिलो चुनाव विसं २००४ जेठ २९ गते काठमाण्डौ म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वयन समिति नाम कायम गरिएको छ । यसअघि स्थानीय तहलाई म्युनिसिपालिटी, नगरपालिका, गाउँ पञ्चायत, नगर पञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ ।

विसं २००४ मा भएको काठमाण्डौ म्युनिसिपालिटीको चुनावपछि देशमा नगरपालिका चुनाव विसं २०१० भदौ १७ गते भएको थियो । त्यसैगरी स्थानीय चुनाव विसं २०१४ माघ ७ गते, गाउँ पञ्चायत चुनाव विसं २०१८ फागुन ७ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए । काठमाण्डौ म्युनिसिपालिटीको २०१० सालमा भएको चुनावमा वडा नं ८ बाट साधनादेवी प्रधान प्रथम निर्वाचित जनप्रतिनिधि बन्न सफल हुनुभएको थियो ।

आयोगका अनुसार, नगर पञ्चायत चुनाव विसं २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्ला सभा र जिल्ला पञ्चायत चुनाव विसं २०१९ देखि विभिन्न मितिमा, अञ्चाल सभा र अञ्चल पञ्चायत चुनाव विसं २०२० देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

स्थानीय तह चुनावका रूपमा विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, विसं २०३९ असार २ गते जिल्ला पञ्चायत, विसं २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगर पञ्चायत एवम् विसं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको चुनाव भएको इतिहास छ ।

देशमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि स्थानीय तहको चुनावका रूपमा विसं २०४९ जेठ १५ र १८ गते गाउँ विकास समिति तथा नगरपालिका चुनाव, विसं २०४९ असार १३ गते जिल्ला विकास समिति चुनाव, विसं २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका चुनाव तथा विसं २०५४ असार २७ गते जिल्ला विकास समितिको चुनाव भएको थियो । विसं २०६२ माघ २६ गते पनि नगरपालिका चुनाव भयो ।

अघिल्लो स्थानीय तह चुनाव

देशमा २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो चुनाव तीन चरणमा भएको थियो । विसं २०७४ वैशाख ३१, असार १४ र असोज २ गते स्थानीय तहको चुनाव भएको हो । सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पु¥याउने उद्देश्यसहित भएको चुनावमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।

स्थानीय तहको चुनावमा दुई सय ३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस चुनावका लागि एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार दुई सय चार अर्थात् ७४ दशमलव ५३ प्रतिशत मतदान भएको थियो । चुनावमा राजनीतिक दलबाट ८३ हजार आठ सय ३६ पुरुष, ५६ हजार चार सय २७ महिला, दुई तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६ सय ८२ पुरुष, एक हजार चार सय १५ महिलासहित एक लाख ४८ हजार तीन सय ६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।

त्यो स्थानीय तह चुनावमा सबैभन्दा सानो १८ लहर र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र कायम गरिएको थियो । आयोगले त्यो चुनावका लागि १७ स्थानीय भाषामा निर्वाचन सूचना सामग्री बनाएको थियो । देशमा अहिले ६ महानगरपालिका, १२ उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिका गरी सात सय ५३ तह र ६ हजार सात सय ४३ वडा कायम छ । लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका देशमा चुनावलाई लोकतन्त्रको प्रणवायु भन्ने गरिन्छ ।



ताजा खबर