काठमाण्डौ,माघ २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागिरहेको बताउनुभएको छ ।
आज सोमवार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले यसबारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताउनुभयो ।
मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यसबारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘म अहिले सकारात्मक ढङ्गले सोच्छु, मसँग बजेटहरू केही पनि छैन मन्त्रालयमा, नेपाल सरकारले अर्थ मन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न खुसी छु ।’अनेरास्ववियुले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इन्डेक्शन चुलो पु¥याउन सरकारसँग माग गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनाबद्ध रूपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।