किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी

२०७८ माघ २६, बुधबार १०:१४

सिरहा,माघ २६ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।

राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’

अर्को चरणको किसान आन्दोलन फागुन १ बाट घोषणा हुने जानकारी दिँदै अध्यक्ष राउतले भने, ‘मौसमको खराबीका कारण हाइवे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको छ, त्यसैले फागुन १ गतेबाट सशक्त कार्यक्रमबाट आन्दोलन अघि बढ्ने छ ।’
संघीय सरकारका कृषि मन्त्री महेन्द्रराय यादव मधेसकै भएपनि किसानको माग सुन्न नचाहेको जिकिर उनले गरे । अध्यक्ष राउतले डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति दुःख व्यक्त गरे ।



ताजा खबर