कमल थापाले पार्टी छोडे पनि केही असर पर्दैन ः अध्यक्ष लिङ्देन

२०७८ माघ २६, बुधबार १३:३४

काठमाण्डौ,माघ २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताउनुभएको छ । आज बुधवारको कुराकानीमा अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदो जीवनमा केही फरक नपर्ने बताउनुभएको हो । राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आउँदो जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ सङ्गठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’

उहाँले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उहाँले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गर्नुभएको छ । थापाको यस निर्णयले उहाँकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै उहाँले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गर्नुभयो ।
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्यो घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गर्नुभयो । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उहाँले स्पष्ट पार्नुभयो ।

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उहाँको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताउनुभयो । निवर्तमान अध्यक्ष थापाले हिजो मङ्गलवार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।



ताजा खबर