दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, लिटरको ८५ रुपैयाँ निर्धारण

२०७८ माघ २७, बिहीबार ०६:४५

काठमाण्डौ,माघ २७ गते । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो ।

बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो।



ताजा खबर