जनकपुर। बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथ नगरपालिका १० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जनकपुरधाम ७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया बहिनी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेका थिइन् । एलिया कुरकुरे किन्न पसलमा गएलतै मनीषा अख्तरलाई लिएर भागेका थिइन् ।
घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सार्वजनिक सञ्चालन फेसबुकसहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजीको कार्य भएको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो । प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
मनीषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीको भनाई छ । बच्चा चोरीमा सघाएर मनीषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए । उपरीक्षक रजौरेले मनीषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
पक्राउ परेकाहरूमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।
बच्चा चोरी घटनाका संलग्न तीन जना पक्राउ
२०७८ माघ २८, शुक्रबार ०८:१५संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer