रामनारायण ठाकुर
सिरहा,फाल्गुण ४गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ५० वर्षीय रामपुकार यादवले विगत दुई वर्षदेखि गँड्यौला मल उत्पादन गरिरहेका छन । किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास बढ्न थालेको छ ।
रामपुकारको मिहिनेतले गर्दा त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ। एउटा खाडल(पिट)बाट सुरु गरेको रामपुकारले अहिले आठवटा खाडल विस्तार गरेर गँड्यौला मल उत्पादन गरिरहेका छन्।
दुई वर्षअघि धनुषाको विरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो। त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे सिकेको रामपुकार बताउँछन्। उनका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निःशुल्करुपमा उपलब्ध गराएको थियो।
दुई बिघा जग्गामा कृषि खेती गर्दै आएका उनले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न गँड्यौला मलको उत्पादन सुरु गरेका थिए। तर गँड्यौला मलका प्रयोगले उत्पादनमा व्यापक फरक देखिएपछि व्यवसायिक रुपले यसको उत्पादन गर्ने मनसाय बनाएको उनी सुनाउँछन्।
उनले करिब ६ कठ्ठामा आलु खेती गरेका छन्। ‘आलु वालीमा कुनै पनि रसायनिक मल दिएको छैन्। गँड्यौला मलको प्रयोग मात्र गरेको छु। आलुको विरुवा अहिले पनि हरियो छ। रसायनिक मल प्रयोग गरेको अर्काको आलु खेती देखाउँदै रामपुकारले भने, ‘त्यस खेतको आलुको बिरुवा हेर्नुस्, सबै सुक्न थाल्यो। पातहरु पहेलो भइसक्यो।’
आफ्नो कृषि खेतीको उत्पादन देखेर गाउँका अन्य किसानले गँड्यौला मलको महत्व बुझदैँ गएको उनको भनाई छ। यसवर्ष मात्रै १८ क्वीन्टल गँड्यौला मल विक्री गरेको यादवले बताए।
सुरुको दिनमा यो मलप्रति कसैलाई विश्वास थिएन। उत्पादित मल बिक्री गर्न समस्या थियो। तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो। अहिले गाउँका मात्र नभएर टाँढा–टाँढाका किसान मल लिन यहाँ आउने गरेको छ,’ खुशी हुँदै यादवले भने। छिट्टै आफ्नै नाउँमा एउटा कम्पनी दर्ता गराएर गँड्यौला मल बिक्री केन्द्र संचालन गर्ने योजना रहेको यादवले सुनाए।
गाउँघरमा गाई भैंसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गँड्यौला मल रासायनिक मल जत्तिको नै फाइदा दिने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकोलेउत्पादनमा जोड दिएको छ स्थानीय किसान रामलखन यादवले बताए।