विराटनगर,फागुन ६ गते । तस्करी गरेर भारततिर लैजाँदै गरिएको कत्था सशस्त्र प्रहरीले विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ हजार ७१ किलोग्राम कत्था बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार बीओपी रानीको टोलीले भारत प्रवेश गर्न लागेको को १ त ६६२० नम्बरको ट्याक्टर र त्यसमा जडान गरिएको को १ त ५६११ नम्बरको ट्रलीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा सानो र ठूलो काटुनमा प्याक गरेर बोराभित्र राखिएको अवस्थामा कत्था बरामद गरिएको एसपी लामिछानेले बताए । नेपालबाट भारततिर कत्था तस्करी हुँदै गरेको सूचना सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीलाई पुगेको थियो । त्यसलगत्तै नियन्त्रणमा लिन उनले विशेष टोली परिचालन गरेका थिए । सशस्त्रले बरामद गरेको कत्था ४ लाख ८४ हजार नौ सय ५० रूपैयाँ बराबरको छ । कत्थाको मूल्य नेपालमा प्रति किलोग्राम ४ सय ५० रूपैयाँभन्दा बढी पर्ने सशस्त्रले जनाएको छ । सशस्त्रका अनुसार कत्थाको तस्करीमा प्रयोग गरिएको ट्याक्टर ५ लाख १५ हजार मूल्य बराबरको छ ।
‘नेपालबाट तस्करी गरेर भारततिर कत्था लगिँदै गरेको जानकारी आएको थियो, डीआइजी गिरीले भने, ‘त्यसलगत्तै परिचालित सशस्त्रको टोलीले दसगजा कटाएर भारतीय भूमिमा पु¥याउन लागेको अवस्थामा कत्था लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको हो ।’ अवैधरूपले कत्था भारत पु¥याउन प्रयोग गरिएको ट्याक्टर र त्यसका चालक सप्तरी घर भएका सेवकलाल सदालाई पनि सशस्त्रले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकसहित ट्याक्टर र कत्था आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीआईजी गिरीको भनाइ छ । कत्था भन्सार कार्यालयले थप परीक्षणका लागि पठाउने तयारी गरेको छ ।
डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार बहुमूल्य प्रजातिको वनस्पतिभित्र पर्ने खयरबाट कत्था बनाइन्छ । खयरको काठको चुर ९रातो भाग०लाई पानीमा उमालेर निकालिने पदार्थ नै कत्था हो । पासवानले खयरको काठको टुक्रालाई रातभर पानीमा डुबाउँदै भिजाएर राखेपछि आगोमा तताउँदै उमालेर निकाल्दा कत्था तयार हुने बताए । उनका अनुसार उमालिसकेपछि काठबाट ठोस र तरल गरेर दुईवटा पदार्थ निस्कन्छ । ठोसलाई कत्था र तरल पदार्थलाई कुच भन्ने गरिएको पासवानले बताए । उनका अनुसार औषधि, कस्मेटिकका सामग्री र पान बनाउन कत्थाको प्रयोग हुन्छ । खयर बहुमूल्य वनस्पतिभित्र पर्ने र यसबाट घरमै पनि सहज तरिकाले कत्था तयार गर्न सकिने उनको भनाइ छ । ‘नेपालमै महँगो वनस्पतिभित्र पर्ने खयरको कत्थाको मूल्य भारतमा झन् धेरै पर्छ,ुसहायक वन अधिकृत पासवानले भने, ‘त्यही भएकाले औषधीय गुण भएको कत्था भारत तस्करी हुने गरेको हो ।’ भारतमा कत्थाको मूल्य नेपालमा भन्दा दोब्बर बढी पर्ने उनको भनाइ छ । भारतमा लगेर प्रशोधन गर्दै कत्थालाई प्रयोगयोग्य बनाउने गरिएको वन कार्यालयको भनाइ छ ।