’फास्ट ट्र्याक’ को काम २०८१ सालको पुससम्म सकिने सेनाको दाबी

२०७८ फाल्गुन १०, मंगलवार ११:१७

काठमाण्डौ,फाल्गुन १० गते । नेपाली सेनाले काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग अर्थात् फ्रास्ट ट्र्याकको काम यो आर्थिक वर्षभित्र २१ प्रतिशत प्रगति हुने दाबी गरेको छ । सेनाले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर यो आर्थिक वर्षभित्र २१ प्रतिशत र २०८१ सालको पुस महिनाभित्र फास्ट ट्र्याकको काम सकिने जनाएको हो ।

आयोजनाको मुख्य चुनौतीका रूपमा रहेको सुरुङ मार्ग र पुल निर्माणका लागि ठेक्का सम्झौता भएर काम सुरु भएकाले २०८१ सालको पुससम्म काम सम्पन्न हुने काठमाण्डौ–तराई–मधेश द्रुत मार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिनुभयो ।

७२ दशमलव ५ किलोमिटर लामो द्रुत मार्गमा ६ किलोमिटर सुरुङ हुनेछ भने ८७ ठाउँमा बन्ने पुलको लम्बाइ १० किलोमिटर हुनेछ । ५५ किलोमिटर लम्बाइ सडकले ओगट्नेछ । ५५ किलोमिटरमध्ये ४४ किलोमिटर क्षेत्रमा सडकको काम ९० प्रतिशतसम्म डिजाइन लेभलमा आइसकेको उहाँले बताउनुभयो ।

ललितपुरको खोकना क्षेत्रमा जग्गा मुआब्जा र वातावरणीय प्रभाव मूल्याङ्कनको समस्याका कारण ठेक्का लाग्नै नसकेको सेनाले जनाएको छ । द्रुत मार्ग आयोजनाका लागि चालु आथिक वर्षमा आठ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अब सबैजसो कामले गति लिइरहेकाले आवश्यकताअनुसार सरकारले बजेट विनियोजन गरेमा र खोकनाको विवाद समाधान भएमा २०८१ सालसम्म काम सकिने सहायक रथी पोखरेलले जानकारी दिनुभयो ।

नेपाली सेनाको क्षेत्राधिकार बाहिरका विषय पनि रहेकाले खोकना समस्या समाधानका लागि सरकार र संसद्को विकास समितिलाई जानकारी गराएको सेनाले जनाएको छ ।



ताजा खबर