एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन ः महामन्त्री थापा

२०७८ फाल्गुन १०, मंगलवार ११:२०

चितवन,फाल्गुन १० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताउनुभएको छ । आज मङ्गलवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यावहारिक हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौँ । तर सँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौँ । फरक–फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन ।’

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उहाँले छलफलपछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उहाँले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो । एमसीसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसीसीका पक्षमा छ ।’



ताजा खबर