महाशिवरात्रिमा पशुपति आउने भक्तजनलाई कुनै समस्या नहोस् ः मन्त्री आले

२०७८ फाल्गुन ११, बुधबार १६:०४

काठमाण्डौ,फाल्गुन ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश र विदेशबाट आउने भक्तजनहरूलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री आलेले आज बुधवार कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सबै कुरा व्यवस्था गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘भव्य र सव्य रूपमा महाशिवरात्रि मनाउन सबै लागि परौँ, भक्तजनलाई कुनै पनि कुराको कमी नआओस् ।’

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरूले सजाएर रङ्चङ्गी तथा झकिझकाउ गर्नसमेत उहाँले निर्देशन दिनुभयो । शिवरात्रि पर्वको समयमा देश र विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खटिन मन्त्री आलेले आग्रह गर्नुभयो ।

यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १७ गते मङ्गलवारका दिन परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको छ ।



ताजा खबर