एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

२०७८ फाल्गुन १२, बिहीबार १४:५४

पर्वत,फाल्गुन १२ गते । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।

मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएका थिए । त्यसपछि उनी पर्वत जिल्ला अस्पतालको निरीक्षण गरेर माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए ।

अर्थमन्त्री शर्माले बिहीबार बिहान गुप्तेश्वर महादेव मन्दिर दर्शन गरेका थिए । उनीसँगै राष्ट्रिय सभाका सांसद दीनानाथ शर्मा पनि मन्दिर पुगेका थिए । ८ फागुनमा अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिरामी भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए । ९ फागुनमा मन्त्री शर्मा बिहानै अर्थ मन्त्रालय पुगेका थिए ।



ताजा खबर