रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्छः वामदेव गौतम

२०७८ फाल्गुन १५, आईतवार ११:३६

काठमाडौं,फागुन १५ गते । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्ने बताएका छन् । दुई राष्ट्रकाबीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्ने पनि उनको धारणा छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको १२ गते बाट स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न युक्रेनका विरुद्ध अन्यायपूर्ण आक्रमक युद्ध शुरु गरेको छ । यो युद्ध दोस्रो विश्वयुद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृत्तिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपाल जस्ता सय भन्दा धेरै राष्ट्रहरुका चाहनाका विरुद्धमा छ । यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनु पर्छ । दुई राष्ट्रका बीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्छ ।’

उनले नेटो सैनिक संगठन भंग गरिनुपर्ने र विभिन्न देशमा राखिएका फौजी अखडाहरू हटाइनुपर्नेमा पनि जोड दिएका छन् । ‘ ब्रह्माण्डमा प्राणी विकास भएको एक मात्र ग्रह पृथ्वीलाई लामो समय बाँच्न सक्ने बनाई प्राणी मात्रलाई शान्तिपूर्ण जीवन जिउन सक्ने अवस्था सृजना गर्नु पर्छ’, शान्तिमा जोड दिँदै उनले भनेका छन् ।



ताजा खबर