शुभ नारायण यादव
सप्तरी,फागुन १६ गते ।सप्तरीमा सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
सगरमाथा साहित्य परिषद्को संयोजनमा कञ्चनरुप नगरपालिकाले फागुन २५ गते सर्वाधिक राशीको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनमा परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिनु भएको छ । जिल्लामै पहिलो पटक सबैभन्दा ठूलो राशीको पुरस्कारसहितको वक्तृत्वकला प्रतियोगिता हुने परिषदका अध्यक्ष मनोहरकुमारले बताउनु भयो ।
यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक बिद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा “मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने जनाइएको छ ।
परिषद्का सल्लाहकार बैद्यनाथ यादवले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्र, परिषद्का सल्लाहकार बैद्यनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।
जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने
२०७८ फाल्गुन १६, सोमबार १७:३३संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer