काभ्रेपलाञ्चोक,फागुन १९ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिको ५० औँ बैठकमा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाउनुभयो ।
आम नेपाली जनताको चाहनाअनुसार सबै दलले देश र जनतालाई केन्द्रमा राखेर देश र जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसीमा पनि विमति हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
नेता सिंहले विपक्षी दल नेकपा (एमाले) ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गर्नुभयो । नेता सिंहले देशलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै उहाँले चुनावको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले चुनाव सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।