काठमाण्डौ,फागुन २० गते । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारको आरोप लागेका अभिनेता पल शाह प्रकरणमा भइरहेका प्रचारबाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर त्यस प्रकरणमा संयमित भइ अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको हो ।
‘अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने आयोगको भनाइ छ । आयोगले यस प्रकरणमा गोपनीयताको हकको संरक्षण गर्दै संवेदनशील र संयमित हुन आग्रह गरेको छ ।