बन्दिपुर ट्राफिक प्रहरी पोष्टद्धारा सबारी साधन चेकजाँचमा कडाई

२०७८ फाल्गुन २५, बुधबार ०७:२९


सिरहा,फागुन २५ गते । सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी सहायक निरीक्षक हृदय नारायण चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी सहायक निरीक्षक चौधरीले बताए । ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले विगत ३ महिनामा करिब ३ हजार सवारी साधनलाई कारवाही गरेको छ । २७ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
‘सवारी चालकको स्वास्थ्य परीक्षण गरौं, सवारी चलाऊ र आफ्नो गन्तव्य स्थानसम्म पुगौँ,’ ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, आफु पनि बाचौँ अरुलाई पनि बचाऊ’ भन्दै ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले सवारी चालकहरुको स्वास्थ्य परीक्षण, सर्वसाधारणलाई सचेतनामुलक पर्चा पम्पलेट वितरण, पैदल यात्रुहरुसँग अन्तक्र्रिया कार्यक्रम, अव्यवस्थित पार्किङ हटाउने काम, सार्वजनिक सवारी रिर्जभमा रहेका सवारीको अनुगमन तथा सवारीको मेकानिकल जाँच लगायतको कार्यलाई समेत तिव्रता दिएको छ ।

सडक दुर्घटना बढ्दै गएपछि सवारी दुर्घटना न्यूनिकरण तथा नियन्त्रणका लागि हामीले सडकमा विभिन्न किसिमिका चेकजाँच देखि लिएर विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धि जनचेतना मूलक कार्यक्रमहरु गरिएको प्रहरी सहायक निरीक्षक चौधरीले बताए ।
उनले भने, ‘सवारी साधनको चाप बढ्दै गएको छ । ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरवाही, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उलङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढी यात्रु बोक्ने, सडक साँघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु, दुर्घटनाको प्रमुख कारण रहेको उनको भनाइ छ ।
ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले बढी दुर्घटना हुने स्थान भुल्के, कमला पुल, बस्तिपुरमा, सरप्राइज चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकहरुको स्वास्थ्य परीक्षण, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनिकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी सहायक निरीक्षक हृदय नारायण चौधरीले बताए ।



ताजा खबर