सलमान खान नेपाल आएपछि सगरमाथाको हवाई सफर गर्ने !

२०७८ चैत्र ९, बुधबार १६:३५

काठमाडौं,चैत्र ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणका लागि आमन्त्रण गरेका छन् ।

बुधबार भएको ‘द–दबङ टुर रिलोडेड’को घोषणा कार्यक्रममा सलमानसँगको भिडियो कुराकानीमा मन्त्री आलेले भने– म तपाईंलाई विश्वकै सबैभन्दा अग्लो चुचुरो ८८४८.८६ मिटर अग्लो सगरमाथा आरोहणका लागि आमन्त्रण गर्न चाहन्छु ।

मन्त्री आलेले हवाई सफरमार्फत सलमानलाई सगरमाथाको अवलोकन गराउने इच्छा पनि व्यक्त गरे । “म तपाईंलाई सगरमाथाको हवाई सफर पनि गराउन चाहन्छु । तपाईंलाई थाहा नै होला हामी (नेपाल) विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथामामा ‘ब्रेक फास्ट इन एभरेस्ट’को अनुभव पनि दिलाउन चाहन्छु,” आलेले भने ।

आलेको निमन्त्रणालाई स्वीकार्दै सलमानले आफू आउने वाचा गरे । यसअघि नेपाल आएको स्मरण गर्दै सलमानले भने, “म धेरै समयअघि चलचित्र ‘बुलन्द कर्के’ जुन रिलिज हुन सकेन त्यसको छायांकनका लागि नेपाल आएको थिएँ । त्यसपछि यही कार्यक्रममार्फत आउने योजना पनि धेरै पटक स्थगित । अब कार्यक्रम हुने पक्का भएको छ । म लगायत मेरो सम्पूर्ण टिम नेपाल आउन पाउँदा खुसी छौँ ।”

कोरोना महामारीले सुस्ताएको पर्यटन प्रबर्द्धनमा यो कार्यक्रमले विशेष टेवा पुग्ने भन्दै आलेले सलमानसहित आयोजक ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपलाई धन्यवाद दिए । पर्यटनमन्त्रीको नाताले आफ्नो पहिलो जिम्मेवारी भनेको नेपालको पर्यटन बढाउनतर्फ हुने भन्दै उनले सलमानलाई स्वागत गर्दै आफूलगायत नेपालीहरू उनको ठूलो प्रशंसक रहेको पनि बताए ।

बम्बे बसाइको क्रममा सलमानको चलचित्र हेरेको स्मरण गर्दै मन्त्री आलेले भने, “सलमानजी मैले १९८८ मा ‘बीबी हो तो ऐसी, मैनें प्यार कियाु चलचित्र हेरेको थिएँ । म त्यो समय उत्तै बम्बेमा नै थिएँ, मेरो बुबाको जागिर उतै थियो । मैले धेरै इन्जोई गरेँ ।” अन्तमा उनले बुद्धको भूमिमा सलमान लगायतटिमलाई स्वागत गर्न आफू आतुर रहेको बताए ।



ताजा खबर