ट्रायल पास भएको सेवाग्राहीलाई ३ दिनमा लाइसेन्स दिनेःयातायात व्यवस्था कार्यालय बर्दिबासको प्रमुख थापा

२०७९ भाद्र २०, सोमबार १२:२६

ट्रायल पास गरेको ३ दिनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाइने भएको छ । लाइसेन्सका लागि ट्रायल पास गरी लाइसेन्स फारम भरेको ३ दिनमा लाइसेन्स पाइने यातायात व्यवस्था कार्यालय बर्दिबासको प्रमुख पोषण थापाले बताए ।

यातायात व्यवस्था कार्यालय बर्दिबासले आर्थिक वर्ष २०७८÷७९ मा २५ करोड ६३ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय बर्दिबासको प्रमुख पोषण थापाका अनुसार चालू आवको आसार मसान्तसम्म कार्यालयले सबै शीर्षकमा गरी २५ करोड ६३ लाख ३२ हजार ८७० रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले मुख्यत यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शीर्षकमा कर संकलन गर्दै आएको छ ।
यस्तै आव २०७८÷७९ मा ३ हजार ८ सय ८० मोटरसाइकल,४३ ट्र्याक्टर,१४१ टेम्पु रिक्सा, १८१ साना(च.छ.ज), १५५ ठुला मझौला सवारीलगायत ४ हजार ४ सय नयाँ सवारी साधन दर्ता भएको यातायात व्यवस्था कार्यालय बर्दिबासको प्रमुख थापाले बताए । कार्यालय प्रमुख थापाका अनुसार सो आवमा ७ हजार ६ सय १८ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने ३ हजार जनाले नवीकरण र ११७ जनालाई प्रतिलिप वितरण गरिएको थियो ।

यातायात व्यवस्था कार्यालय बर्दिबासको प्रमुख पोषण थापाले भने काम गर्ने इच्छा शक्ति भयो भने सरकारी सेवालाई गुणस्तरीय र विश्वासनीय बनाउन सकिने बताउँछन् । ‘हामी स्थापना कालदेखि नै जुझारु रुपले काम गर्दै आएका छौं । सीमित जनशक्तिले असीमित सेवा प्रवाह गछौं,’ उनी भन्छन्, ‘सेवाग्राहीको गुनासोलाई सहज रुपमा सुन्छौं । उहाँको राम्रो सल्लाहलाई नोट गरेर तत्कालै सुधार गर्नेतिर लाग्छौं । दिन सक्ने सेवालाई सम्बोधन गर्छौं ।’ प्रवाह भएको सेवाबाट आफूहरुलाई पनि घर फर्किने बेला सन्तुष्टि प्राप्त हुनेको गरेको उनी सुनाउँछन् । ‘चुनौती स्वीकार गर्नु पर्छ । नयाँ कामका लागि सबै मिलेर प्रयास गर्नु पर्छ । केही न केही सफलता पक्कै पाइन्छ,’ उनी भन्छन् ।



ताजा खबर