जुनसुकै देशमा लुकेका अपराधीलाई पक्राउ गर्न प्रहरी सक्षम छ : आईजीपी सिंह

२०७९ आश्विन ३१, सोमबार १४:३०

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपालमा अपराध गरेर विश्वका जुनसुकै कुनामा लुकेर बसेका व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी सक्षम रहेको दाबी गरेका छन् । प्रहरी दिवसको अवसरमा सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय विभिन्न देशमा लुकेर बसेका व्यक्तिहरूलाई पक्राउ गरेर नेपाल ल्याइएको दृष्टान्त दिँदै नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको बताए ।

‘विभिन्न अपराधमा संलग्न नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई कानूनी दायरामा ल्याई अपराधीलाई संसारका कुनै स्थान सुरक्षित छैन भन्ने सन्देश दिन नेपाल प्रहरी सक्षम भएको छ’, उनले भने, ‘यस वर्ष पनि हालसम्म ७ जनालाई कतार र मकाओबाट कानूनी दायरामा ल्याएको छ ।’

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।



ताजा खबर