सर्लाही २ मा त्रिपक्षीय प्रतिस्पर्धा : भोट कसलाई मतदाता अलमल्लमा’

२०७९ कार्तिक ३०, बुधबार १९:०९

सर्लाही जिल्लाको क्षेत्र नं. २ मा अगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

विगत चुनावमा प्रतिनिधि सभामा जनता समाजवादी पार्टी बाट महेन्द्र यादव निर्वाचित हुनुभएको थियो । सर्लाही जिल्लाको क्षेत्र नं. २ मा यस पटक नेकपा माओवादी र नेपाल समाजवादी पार्टी बीच गठबन्धन छ ।

नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी बीच अर्को गठबन्धन भने नेकपा एमालेपनि सशक्त प्रतिस्पर्धामा छ । नेपालका अधिकांश क्षेत्र भन्दा यहाँ निक्कै रोचक प्रतिस्पर्धा देखिन्छ ।

प्रतिनिधि सभाका लागि अधिकांश क्षेत्रमा गठबन्धन गरेका सत्तारुढ दलहरु नै यहाँ एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । नेकपा माओवादी–नेपाल समाजवादी पार्टी गठबन्धन तर्फबाट पूर्व कृषि तथा पशुपंछी मन्त्री महेन्द्र यादव, नेपाली कांग्रेस–लोकतान्त्रिक समाजवादी पार्टी बाट राजेन्द्र महतो र नेकपा एमालेबाट राजनारायण साह उमेदवार हुनुहुन्छ ।

प्रदेश सभाका लागि क्षेत्र नं. २ (क) मा नेकपा माओवादी–नेपाल समाजवादी पार्टी गठबन्धनको तर्फबाट सुनिल साह, नेपाली कांग्रेस–लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनको तर्फबाट जंगीलाल राय र नेकपा एमालेबाट किसुनदेब यादव उमेदवार हुनुहुन्छ । अहिले पार्टी र उम्मेदवारहरु गाउँ, सहर, टोल, बजार, चोक, चौराहा तथा चिया खाजा पसलहरुमा प्रचारमा दौडिरहेको देखिन्छ ।

यी तीन ठूलो उम्मेदवारहरुको एक आपसको टकराव भएपछि मतदाताहरूमा एक किसिमको निराशा उत्पन्न भएको छ । यसपाली कसलाई भोट हाल्ने भन्ने बिषयमा मनोकामना मिडिया सँग स्थानियहरु कुराकानी गर्दै आफूहरु अलमल्लमा परेको बताउँछन् ।

उनीहरू बीच प्रतिस्पर्धा हुदा कुन पार्टीको विजय निश्चित हुन्छ भन्न यकिन गर्न अहिले नै सकिँदैन । तर विगत चुनावमा जा. स.पा. बाट बनेका मन्त्री हाल ने.स.पा. बाट पूर्व कृषि तथा पशुपंछी मन्त्री महेन्द्र यादव चुनावको बेला घोषणा गरेका प्रतिपद्धता पुरा नगरेकोमा मतदाता निरास छन् । पाँच बर्ष मौका दिँदा समेत अपेक्षाकृत विकास नभएका कारणले किसानहरूलाई समयमा मल, सिँचाइ, विद्युत, यातायात, रोजगारी जस्ता व्यवस्था सिर्जना नभएका कारणले स्थानीय पीडित हुँदै आएको स्थानीय तथा जनप्रतिनिधिहरूको आरोप छ ।

यता संविधान सभाको चुनावका बेला सर्लाहीका जनताले जिताएर पठाएपछि राजेन्द्र महतोले पनि केही नगरेको मतदाताहरुको गुनासो छ । जनताले जिताएपछि महतोले अर्को पटकदेखि आफ्नो निर्वाचन क्षेत्र नै छोडेर धनुषा गएको र अहिले गठबन्धन बाट भाग नमिल्दा फेरि सर्लाही आएकोमा मतदाताको चित्त दुखाई छ । यसरी ठाउँ फेरिरहने र सत्तामा पुग्दा समेत केही गर्न नसक्नेसँग अपेक्षा गर्न नसक्ने आम मतदाताहरुको भनाई छ ।



ताजा खबर