करारका कर्मचारीहरुलाई हटाईएको भन्दै पर्सागढीका स्वास्थ्य चौकीहरु बन्द

२०७९ माघ १३, शुक्रबार १५:३९

पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडाहरुको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुले आन्दोलनको उदघोष गरेका छन् ।

पर्सागढी नगरपालिकाको वडा नं. १, ३, ७ र ९ मा रहेको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरुमा कार्यरत १३ जना करारका कर्मचारीलाई बिना कारण एकाएक हटाईएको विरुद्धमा कर्मचारीहरुले बिहीवार नगरप्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाएका छन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र, मनवाका प्रमुख दीपु चौरसियाको अगुवाइमा कर्मचारीहरूले नगरप्रमुख पाठकलाई १० सूत्रीय माग सहित ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिका अन्तर्गत रहेका आधारभूत स्वास्थ्य चौकीमा करारमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूले आफूहरूलाई विनाकारण कामबाट हटाइएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा दिनहुँ जसो कार्यालयमा काम गरेर फर्केपछि रातीमा एकाएक जबरजस्ती हटाईएको पत्र कर्मचारीहरुको घरमा पठाईएकोमा दुःख व्यक्त गर्दै कामबाट हटाउनुपर्ने कारण, तलब भत्ता दिनु पर्ने लगायतका १० सूत्रीय माग सहित ज्ञापनपत्र बुझाएको प्रमुख चौरसियाले बताए ।
पालिकाको ७ औं नगरसभाबाट करारका कर्मचारीहरुलाई एकमुष्ट चालु आ.व.को म्याद थप गर्ने निर्णय भए पनि आफ्नै सभाको निर्णय नमानेको, कोभिड–१९को महामारीमा २४ सै घण्टा काम गरेका कर्मचारीहरुलाई एकै पल्ट सखाप पार्ने काम गरेकोमा पुनःविचार गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
आफुहरुको माग तत्काल सम्बोधन नभए शुक्रवार देखि पत्रकार सम्मेलन, कर्मचारी संघ संगठन भेला, सभा, कार्यालयको प्रवेशद्वारमा धर्ना लगायतको ७ दिने बिरोध प्रदर्शनको कार्यक्रमहरु तय गरिएको चौरसियाले बताए । धर्ना पश्चात पनि आफुहरुको माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रमहरु गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन बुझ्दै नगरप्रमुख पाठकले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले तलबभत्ता दिन सक्दैन र स्वास्थ्य मन्त्रालयले पनि रकम उपलब्ध गराउन नसकेपछि करारका कर्मचारी हटाउनुपरेको बताए । उनले कर्मचारी आवश्यकता परेको खण्डमा सेवा दिइरहेका व्यक्तिलाई प्राथमिकतामा राखिने बताए ।
कर्मचारीहरुलाई हटाईएकै कारण वडा नं. ६ बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित बर्थिङ्ग सेन्टर बन्द भएकोले सेवाग्रहरीहरु मारमा परेको जनाईएको छ । ज्ञापनपत्र बुझाउने क्रममा करारबाट हटाईएका अनमीहरु रेनु कुमारी, सुगान्धी कुमारी, कयमुल नेसा, सोनम गिरी, सिएमएहरु दिपेन्द्र चौरसिया, विक्रान्त चौधरी, सोनु यादव, कार्यालय सहयोगीहरु मेकन यादव, केदार यादव, विष्णु वाईबा, राजकिशोर यादव, मंजु लामाको समेत उपस्थिति रहेको थियो ।



ताजा खबर