रामनारायण ठाकुर
सिरहाको लहानमा सम्पन्न नेपाल नाई संघको ८ औं राष्ट्रिय महाधिवेशनले बुधबार सवसम्मत रुपले सप्तरीका राजाराम ठाकुरको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
संघको राष्ट्रिय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सन्तोषकुमार सुवेदीका अनुसार महाधिवेशनको बन्द शत्रबाट आगामी चार वर्षका लागि पदाधिकारी अन्तर्गत बरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, पाँच उपाध्यक्षमा श्यामकुमार ठाकुर, विश्वनाथ ठाकुर, सियाराम ठाकुर, महेन्द्र ठाकुर, सियाशरण ठाकुर, महिला उपाध्यक्ष सुमनदेवी ठाकुर, महासचिव कौशलमनि ठाकुर, उपमहासचिव जयनाथ ठाकुर, कोषाध्यक्ष ध्रुव ठाकुर निर्वाचित भएका छन् ।
संघको निवर्तमान केन्द्रीय समितिसहित मुलुकका ४५ जिल्लाबाट छनौट भएर आएका दुई सय ४० जना महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिमा बाँकी २० जना सदस्य पनि सर्वसम्मत रुपमा निर्वाचित गरेको केन्द्रीय प्रतिनिधि शीतल कोइरालाले जानकारी दिए । संघमा निर्वाचित पदाधिकारीसहित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत सुवेदीले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस सम्बद्ध संघको महाधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले उद्घाटन गर्दै पेशागत हक अधिकारका लागि संगठन परिचालनमा जोड दिए ।