सर्लाहीको बागमती नगरपालिका १ मा एक युवकको वेवारिसे शव फेला परेको छ।

२०८० चैत्र १७, शनिबार ११:००

चुरेमा पर्ने बागमती नदी छेउको जंगल क्षेत्रमा शुक्रबार साँझ वेवारिसे शव फेला परेको हो।बागमती १ ढोपबाट हिरेडाँडा जाने सडकदेखि झण्डै सात सय मिटर पूर्वतर्फ खोल्सीमा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले जानकारी दिए।

‘शव सडिसकेको छ। करिब एक साता अघि नै मृत्यु भएको जस्तो देखिने शवको सनाखत हुन सकेको छैन,’ इन्सपेक्टर गिरीले भने, ‘शव परीक्षणको लागि हामीले शुक्रबार राति नै प्रादेशिक अस्पताल मलंगवा पठाएका छौँ।’

जंगलमा कर्कलो टिप्न गएका स्थानीय महिलाहरुले खोल्सीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ज्याकेट, सर्ट तथा जिन्सको पाइन्ट लगाएको र घाँटीमा रातो गम्छा बेरेका युवक मृत अवस्थामा भेटिएका हुन्। शवको पहिचानको लागि थप अनुसन्धान भइरहेको इन्सपेक्टर गिरीले बताए।

ती युवकको मृत्युको कारण पनि नखुलेको गिरीको भनाई छ। ‘पोष्टमार्टमपछि मृत्युको कारण खुल्न सक्छ,’ उनले भने, ‘आफन्त कोही हराएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि पनि हामीले सूचना गरेका छौँ।’



ताजा खबर