हालै विभाजित जनता समाजवादी पार्टीबाट प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री र हसिना खानले सोही मन्त्रालयमा राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
यादवले सोमबार नै शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यस्तै राज्यमन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष शपथ ग्रहण गरेकी हुन् । जसपा विभाजन भएपछि अशोक राई नेतृत्वको जसपाबाट दुई जनालाई मन्त्रीको रुपमा सिफारिस गरिएको हो ।
यससँगै प्रधानमन्त्री दाहालले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा दिएपछि जसपाले यसअघि पनि मन्त्री बनिसकेका प्रदीप यादवलाई मन्त्रीमा सिफारिस गरेको हो ।
सांसद बनेको एक महिना नपुग्दै मन्त्री भइन् हसिना
प्रदीप यादव र हसिना खान दुवै युवा सांसद हुन् । खान भने सांसद बनेको एक महिना नपुग्दै राज्यमन्त्री बनिन् । जसपाबाट मुस्लिम महिलातर्फ निर्वाचित मन्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमनुसार हसिना वैशाखको पहिलो साता सांसद बनेकी थिइन् । वैशाख ७ गते सांसदको शपथ लिएकी २७ वर्षीया खान एक महिना नपुग्दै मन्त्रालय प्रवेश गर्ने अवसर पाइन् ।
बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसिना खान दुई सन्तानकी आमा पनि हुन् । उनको पहिलो छोरा ९ वर्षका भए । सांसद बन्नुअघि घरायसी काममै व्यस्त रहेकी हसिनाले स्नातकसम्मको अध्ययन गरेकी छन् ।
यससँगै मन्त्रिपरिषद्मा उनी एक्लो महिला मुस्लिम मन्त्री हुन् । हसिनाले राज्यमन्त्रीको रुपमा आफूले समुदायस्तरमा स्वास्थ्य सेवाका लागि भूमिका खेल्ने प्रतिक्रिया दिएकी छन् ।