शिवपुराण महायज्ञबारे बढ्दै चासो र सहयोग

२०८१ श्रावण १०, बिहीबार २२:२०

हाम्रो मायाघर निर्माणार्थ सहयोगका लागि आयोजना हुन लागेको शिवपुराण माहयज्ञबारे बर्दिबासमा चासो र सहयोगका प्रतिबद्धता बढ्दैछन् ।बर्दिबास–२ मा करिब ११ करोडको लागतमा निर्माण हुने हाम्रो मायाघर निर्माणार्थ सहयोगका लागि यही साउन २१ देखि २९ सम्म बर्दिबास–१ मा आयोजना हुने शिवपुराण महायज्ञका लागि सहयोगी हात थपिदै गएका हुन् । आज बिहीबार होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र यातायात व्यवसायीले महायज्ञमा सहभागी हुनेहरुका लागि विशेष छुटको घोषणा गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले महायज्ञमा आउने पाठ पारायण र कथा वाचन गर्ने विदुषी राधिका दासी नेतृत्वको पण्डित टोलीको निशुल्क खाना तथा आवासको घोषणा गरेको छ । यसैगरी सङ्घले शिवपुराण महायज्ञमा सहभागी हुने स्रोताहरुका लागि आबासमा २५ र खानामा १५ प्रतिशत छुट गर्ने निणर्य गरेको अध्यक्ष गुञ्जबहादुर कार्कीले जानकारी दिनुभयो । सङ्घ र महायज्ञ आयोजक समितिको सचिवालयसँग आजै भएको संयुक्त बैठकमा यस्तो सहमति भएको हो । सङ्घले महायज्ञ आयोजक समितिको सचिवालयलाई निशुल्क कार्यालय पनि उपलब्ध गराउने सहमति गरेको छ ।

यस्तै बर्दिबासका यातायात व्यवसायीले महायज्ञ अवधिभरि सहभागी हुन आउनेहरुका लागि भाडामा ३० प्रतिशत छुट दिने घोषणा गरेका छन् । आज बिहीबार नै यातायात व्यवसायी सङ्गठनहरु सुनौली बिपी यातायात, अटो एनएसटिडी सेवा, कविता यातायात प्रालि र भवानी यातायात प्रालि (माइक्रोबस)का प्रतिनिधिले महायज्ञमा कथा श्रवण गर्न आउने श्रद्धालुहरुका लागि ३० प्रतिशत भाडा छुटको घोषणा गरेका छन् । महायज्ञबारे बढ्दो चासो र दिनदिनै भइरहेका सहयोग घोषणाले आपूmहरु उत्साहित भएको महायज्ञ आयोजक समितिका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो ।

“हामी मानवीय सहयोगको पवित्र ध्येयप्रति समर्पित छौं, महायज्ञबारे बढ्दो चासो र सहयोगका प्रतिबद्धताले हौसला थपेको छ” नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्षसमेत रहनु भएका गौतमले भन्नुभयो, “महायज्ञबारेको चासो र सहयोगले हाम्रो मायाघर चाँडै बन्ने विश्वास जाग्दै गएको छ ।” करिब २५ लाख खर्च हुने महायज्ञबाट हाम्रो मायाघर निर्माणार्थ दुई करोड सहयोग जुट्ने गौतमको विश्वास छ ।

बर्दिबास–२ मा निर्माण हुने हाम्रो मायाघरका लागि दाताबाट जग्गा प्राप्त भएर सोको पक्की घेराबेरा पनि भइसकेको छ । निर्माण हुने हाम्रो मायाघरमा सडक मानव तथा आश्रयविहीनहरुसमेत २०० को व्यवस्थापन गरिने जनाइएको छ ।

बालबालिका तथा अपाङ्गता मैत्रीसहित भूकम्प प्रतिरोधी दुईवटा भवनको विस्तृत परियोजना प्रस्ताव तयार भएको छ । अत्याधुनिक सुविधासहितको दुई भवनमध्ये एउटा दुई तले र अर्को चार तले बन्नेछ । काम थालिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष लिइएको यो भवनमा सहयोगका लागि हाम्रो मायाघर बर्दिबास समितिले सार्वजनिक अपिल गरेको छ ।



ताजा खबर