मिर्चैयामा ठेकेदार कम्पनीको लापर्बाहीले नालामा डुबेर महिलाको मृत्यु

२०८१ मंसिर १६, आईतवार २१:४०

सिराहाको मिर्चैया नगरपालिका– ५ मिर्चैयामा ठेकेदार कम्पनीले अलपत्र छोडेको नालामा डुबेर छारे रोग लागेकी महिलाको मृत्यु भएको छ।

स्थानीय जीवन महतोकी श्रीमती करिब ३५ वर्षीया रेजिना महतोको आइतबार बिहान करिब पौने ८ बजेतिर अलपत्र छोडिएको नालामा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हातेकलमा पानी लिन आएकी महतो छारे रोगले बेहोस भएपछि जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो।

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी परिवारबाट जाहेरी लिएर शव पोस्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पताल पठाउन लागेको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए। स्थानीयले महिलालाई नालामा डुबेको अवस्थामा देखेलगत्तै प्रहरीलाई सूचना दिएपछि मिर्चैया अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

बाखुका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मिर्चैया अस्पतालले सम्बन्धित परिवारलाई दिएको मृत्यु प्रमाणपत्रमा पनि मृतक महिलामा छारे रोग रहेको उल्लेख छ।

ठेकेदार कम्पनीको लापर्बाही
सप्तरीस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले राजविराज– ८ ठेगाना रहेको विकास–गहिला–ओम गणेशाय जे.भि.मार्फत सडकको दायाँबायाँ आरसिसी नाला बनाउने कामका लागि खाल्डो खनेर अलपत्र छोड्दा दुःखद घटना भएको मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले बताए। नगर प्रमुख यादवले आइतबार प्रेस विज्ञप्तिमार्फत नाला निर्माण सम्पन्न गर्न नगरपालिकाबाट पटक–पटक ताकेता गरे पनि नगरपालिकाले नाला अलपत्र छाडेको भन्दै भ्रम फैलाउन खोजिएको जनाएको छ।

आयोजनाले ‘मिर्चैया स्मार्ट सिटीमा मास्टर प्लानको डिपिआर तयार भएअनुसार पूर्वाधार निर्माण कार्य सञ्चालन गर्ने’ कार्यका लागि आरसिसी नाला बनाउन ठेक्का लगाएको थियो। आयोजनाले मिर्चैयाको हाइवे थाना चोक सडक खण्डको थानादेखि बतहा खोलासम्मका लागि आरसिसी नाला बनाउन आ.व. ०७७÷७८ को विनियोजित बजेटबाट ठेक्का नं. ०६–२०७७–०७८ अन्तर्गत निर्माण व्यवसायीलाई २८ असार ०७८ मा कार्यादेश दिइएको जनाएको छ।

ठेकेदार कम्पनीलाई कार्यादेश दिएपछि ९ जेठ २०७९ मा आयोजनाले साइट क्लियरेन्स गरिदिन नगरपालिकालाई पत्रमार्फत आग्रह गरेको थियो। उक्त पत्रबमोजिम नगरपालिकाले स्थानीय प्रहरीसमेतको सहयोगमा साइट क्लियरेन्स गरिदिएको दुई वर्ष बढी हुँदा पनि निर्माण कार्य अलपत्र छोडिँदा समस्या भइरहेको उनले बताए। नाला साइट क्लियरेन्स भए पनि खाल्डो खनेर नाला अलपत्र छोडिएको विषयमा ठेकेदार कम्पनीका राजीव साहसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।नयाँ पत्रिका



ताजा खबर