सर्लाहीमा नक्कली नोटसहित तीन जना पक्राउ

२०८१ फाल्गुन २०, मंगलवार २१:५७

सर्लाही प्रहरीले नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मलंगवा नगरपालिका–९र१० स्थित कोठाहरूमा खानतलासी गर्दा नक्कली नोट, भारतीय मुद्रा तथा चोरी गर्न प्रयोग हुने सामग्रीहरू बरामद गरिएको हो।

पक्राउ पर्नेहरूमा दिपेश यादव, अर्जुन महतो र विवेक सिंह महतो रहेका छन्। उनीहरू लामो समयदेखि नक्कली नोटको कारोबार गर्दै आएको आशंका प्रहरीले गरेको छ। छापामार अनुसन्धानका क्रममा रु. १,००० दरका नक्कली नोट ९८थान (जम्मा रु. ९८,०००) तथा भारतीय मुद्रा रु.३०,०००फेला परेको छ। साथै, चोरीका गतिविधिमा संलग्न हुन सक्ने विभिन्न फलामका उपकरणहरू समेत बरामद गरिएको छ।

पक्राउ परेका तीनैजनालाई मुद्रा सम्बन्धी कसूर शिर्षकमा मुद्धा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक सरोज राईले जानकारी दिएका छन्।

प्रहरीले नक्कली नोट कारोबारको विस्तृत अनुसन्धान गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ। स्थानीय जनतालाई पनि सचेत रहन र कुनै शंका लागेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।



ताजा खबर